आयल निगमले सूचना लुकाएको आरोप

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते । नेपाल आयल निगमले व्यवसायी र सर्वसाधारणलाई दिने सूचना लुकाएको आरोप लगाइएको छ ।
नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको शनिबार हेटौँडामा भएको १४ औँ साधारण सभा तथा अधिवेशनमा पेट्रोलियम पदार्थ व्यवसायीले यस्तो आरोप लगाएका हुन् ।
मध्यपूर्वमा भएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ आतङ्कित बनेको भन्दै वक्ताहरुले पेट्रोलियम पदार्थ व्यवसायीले सूचना र पारदर्शिता एव प्रविधिको युगमा आयल निगमले सूचना लुकाउँदा अन्योल सिर्जना भएको बताएका थिए ।
कार्यक्रमका वक्ताहरुले पेट्रोलियम पदार्थ व्यवसायीले पछिल्लो समय लगानीको अनुपातमा कम प्रतिफल पाएकोले सरकारसँग आयल निगमले सहजीकरण गरी समस्या समाधानका लागि आग्रह गरेका थिए ।

नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थको कारोवार अत्यावश्यक पर्दामा पर्ने र यो सेवामूलक व्यवसाय भएको भन्दै पेट्रोल पम्प २४ सैं घण्टा खुल्नुपर्ने व्यवस्था भएसँगै निगमका डिपोहरुपनि नियमित गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले अहिले पेट्रोलियम पदार्थको खपत घटेको भन्दै पेट्रोल पम्पले बिक्री गर्ने पेट्रोलियम पदार्थको गुणस्तर, नाप र मूल्यमा कुनै समस्या नरहेको बताउनुभयो ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जका कार्यालय प्रमुख अशोक शाहले निगममा निगमले चुनौतीका बिच पेट्रोलियम पदार्थको बिक्री व्यवस्थालाई सुनिश्चित गरेको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताको निजी सवारीबाट ढुवानी गर्न पाइने बताउनुभयो ।
पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका महासचिव विश्वप्रसाद अर्यालले पेट्रोलियम पदार्थको अहिले आपूर्तिमा समस्या नभएको भन्दै लगानी र जोखिमको आधारमा मुनाफा पाउनुपर्ने बताउनुभयो । चितवन पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष शर्मिला सेढाईले सूचना सबैको अधिकार भएको भन्दै आयल निगमलाई सूचना नलुकाउन र पारदर्शिता अपनाउन आग्रह गर्नुभयो ।

नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाका अध्यक्ष उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम विक्रेता सङ्घका पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, सल्लाहकार ढुण्डीराज उप्रेती, वरिष्ठ उपाध्यक्ष रामेश्वर श्रेष्ठ, बागमती पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष अच्युत खड्का, रौततह पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष महेश दासलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles