हेटौँडा, जेठ १९ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको छ । प्रदेशसभा बैठकको मङ्गलबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो।
प्रदेशसभा सदस्यहरू रत्नप्रसाद ढकाल, लक्ष्मी घिमिरे, सुष्मा भुजेल न्यौपाने र युवराज चौलागाईँले वार्षिक नीति तथा कार्यक्रममा राख्नुभएको संशोधन प्रस्तावहरू बैठकले बहुमतबाट अस्वीकृत गरेको थियो ।

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यहरु रामकृष्ण चित्रकार, राजेन्द्र प्रजापति, रघुनाथ महर्जन, प्रेमबहादुर पुलामी, हरिप्रसाद सापकोटा, रामप्रसाद ढुङ्गाना, मातृकाप्रसाद भट्टराई, उद्धब थापा सुरेन्द्रराज गोसाइ, लक्ष्मण लम्साल, समिता खड्गी, शकुन्तला श्रेष्ठ, भुवनकेशरी श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको आव २०८३र०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको प्रारम्भ गरियोस् भनि प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते अपराह्न १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिनुभयो ।




