मकवानपुर, जेठ २० गते । चट्याङजन्य प्रकोपको मकवानपुर जिल्ला उच्च जोखिम रहेको पाइएको छ । मकवानपुरमा विपत्जन्य घटनासँगै चट्याङजन्य प्रकोप र त्यसबाट हुने मानवीय एवं भौतिक क्षति बर्सेनि बढ्दै गएको हो । सन् २०१६ जुलाईदेखि २०२६को मे १३ गतेसम्ममा यस जिल्लामा २९६ मनसुनजन्य विपत्का घटनामा ८२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्याङ्क छ। मनसुनजन्य विपत्का घटनामा ८२ जनाको मृत्यु भएकामध्ये चट्याङबाट मात्र ३६ जना रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको विपत् व्यवस्थापन शाखाका नासु दीपकप्रसाद पौडेलले सो अवधिमा चट्याङबाट मृत्युभएका मध्ये सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिकामा १३ जना रहेको बताउनुभयो ।

यस्तै जिल्लाका १० स्थानीय तहमध्ये बकैया गाउँपालिका र मनहरी गाउँपालिकामा छ–छ जना, राक्सिराङ गाउँपालिकामा पाँच जना, हेटौँडा उपमहानगरपालिका क्षेत्रमा तीन जना, बागमती गाउँपालिकामा दुई जना र कैलाश गाउँपालिकामा एक जनाको सो अवधिमा चट्याङले मृत्युभएको जिल्ला प्रशासन कार्यालयको अभिलेखमा छ । यसैगरी मनसुनजन्य विपत्का घटना बाढीपहिरोबाट यो अवधिमा मकवानपुरगढी गाउँपालिकामा नै सबैभन्दा बढीको ज्यान गएको छ । पहिरोमा परेर १५ र बाढीबाट १२ जनाको मृत्युभएको थियो ।

चट्याङको प्रकोप बर्सेनि बढ्दै गएपछि मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान गरिएको छ । गत वर्ष वैशाखमा पूर्वसूचना दिने प्रणाली पालिकाको विभिन्ना स्थानमा जडान गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँले चट्याङको पूर्वसूचना दिने प्रणाली जडानसँगै स्थानीयमा सचेतता र सतर्कताका कारण चट्याङबाट हुने मानवीय क्षति न्युनीकरणमा सहयोग पुगेको बताउनुभयो । “सामान्य बादल लाग्दासमेच साइनर बज्न थाल्ने भएकोले ध्वनि प्रदूषणको समस्या देखिएको औल्याउँदै,” उहाँले भन्नुभयो, “चट्याङको पूर्वसूचना दिने प्रणाली जडानसँगै अर्थिङ जडानलाई हामीले प्राथमिकतामा राखेका छौँ ।”

पालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर १ का २२ घरमा अर्थिङ जडान गरिएको छ । गाउँपालिकाले चट्याङजन्य प्रकोपबाट हुने जोखिम र मानवीय क्षति न्युनीकरणका लागि प्रभावकारी माध्यम अर्थिङ जडान भएको निष्कर्ष सहित अर्थिङ जडानमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङ पूर्व सूचना सेन्सरसहितको यन्त्र राक्सिराङ गाउँपालिकामा स्थापना गरिएको छ । राक्सिराङ चट्याङ उच्च जोखिमभएको पालिका भएकोले यो प्रणालीको जडानले चट्याङबाट हुने धनजनको क्षति न्युनीकरणमा सहयोग पुग्ने पालिकाले जनाएको छ ।

पूर्व सूचना प्रणाली जडान भएपछि बाँदलमा विद्युतीय चार्ज उत्पन्न हुँदै गर्दा उपकरणमा भएको सेन्सरले १६ किमी क्षेत्रभित्रको विद्युतीय चार्ज थाहा पाउँछ । प्रकरणले साइरन प्रणालीसँग जोडेर पूर्व सूचनाको सन्देश प्रवाह गर्छ । यो प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिने छ, जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सन्देश प्रवाह गर्ने प्रविधि रहेको छ । गाउँपालिकाका अध्यक्ष मल्लले विपद्का दृष्टिले राक्सिराङ उच्च जोखिमयुक्त क्षेत्र भएकाले धनजनको क्षति रोक्न प्रविधिको आवश्यक भएको बताउनुभयो । पालिकामा एउटा मुख्य सेन्सर र विभिन्न स्थानमा आठ वटा साइरन प्रणाली जडान गरिएको गाउँपालिकाको भनाइ छ ।




