काठमाडौँ, जेठ २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले सङ्गठन सुदृढीकरण र भाबी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो। बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव सङ्कलन कार्यक्रम अनुसार जेठ ३० गते बागमती प्रदेशमा, असार २ गते कोशी प्रदेशमा, असार ४ गते लुम्बिनी प्रदेशमा, असार ६ गते सुदूरपश्चिम प्रदेशमा, असार ८ गते कर्णाली प्रदेशमा, असार ११ गते गण्डकी प्रदेशमा, असार १३ गते मधेश प्रदेशमा, असार १६ गते राजधानी काठमाडौँमा, असार १७ गते सम्पर्क समन्वयको, असार १८ गतेः जनसङ्गठनको, असार १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग कार्यक्रम गर्ने छ ।




