हेटौँडा, जेठ २७ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विद्युत् सर्ट भई भएको आगलागीबाट १२ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको छ । बकैया गाउँपालिका–३ चिसापानीका कुलबहादुर घिसिङको घरमा मङ्गलबार राति विद्युत् सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट ३० मुरी धान, १५ क्विन्टल मकै, एउटा विद्युतीय घट्ट, करिब एक लाख रुपियाँ बराबरका फर्निचरका सामान, लत्ताकपडा, भाँडावर्तन, विद्युत् मिटर तथा घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हात्तिसुँडे र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, बागमती गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका दमकलको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय तथा पशुचौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।




