काठमाडौँ, असार १ गते । उपाधि दावेदार जर्मनीले फिफा विश्वकप–२०२६ मा नवप्रवेशी कुराकाओमाथि गोल वर्षा गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा सोमबार बिहान भएको खेलमा चार पटकको विजेता जर्मनीले कुराकाओलाई ७–१ गोलले हरायो । एकपक्षीय खेलमा जर्मनीलाई जिताउन काई हावर्ट्जले दुई गोल गर्नुभयो । यस्तै फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानियल ब्राउन र डेनिज उन्डाभले एक एक गोल थप्नुभयो ।

कुराकाओका लागि लिभानो कोमेनेन्सियाले सान्त्वना गोल फर्काएनुभयो । पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो । कुराकाओले पहिलो हाफमै गोल फर्काए पनि दोस्रो हाफमा निरिह बन्यो । समूह ‘ई’ मा पहिलो जितसँगै जर्मनीले तीन अङ्क बनाएको छ । कुराकाओले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूह अन्तर्गत सोमबार बिहान फिलाडेल्फिया स्टेडियममा भएको अर्को खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टलाई जिताउन अमाड डायलोले खेलको अन्तिम तथा ९०औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । जितसँगै आइभरी कोस्टले तीन अङ्क बनाएको छ । इक्वेडरले हारबाट विश्वकपको यात्रा सुरुवात गरेको छ ।




