हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएसँगै आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि मुख्यमन्त्री कार्यालयसहित आठ मन्त्रालयलाई बजेट विनियोजन गरेको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ले बजेट पेस गर्नुभएको हो।

आर्थिक मामिला तथा योजना मन्त्री तामाङका अनुसार कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रालयका लागि ६ अर्ब ७१ करोड ७७ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ। उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड ५५ लाख ७४ हजार रुपैयाँ बजेट छुट्याइएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड २ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड ६१ लाख ८५ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा ठूलो बजेट प्राप्त गरेको छ। उक्त मन्त्रालयका लागि २५ अर्ब ६० करोड ८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड ७७ लाख ५७ हजार रुपैयाँ बजेट छुट्याइएको छ।




