बागमती गाउँपालिकाको आगामी आवको बजेट ७३ करोड २० लाख

लोकप्रिय

हेटौँडा, असार ५ गते ।  मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा सम्पन्न दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष फणीन्द्र तिल्सिनाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड २० लाख ४ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ ३५ करोड २८ लाख ६५ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ६ करोड ५ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ३० करोड ९० लाख रुपैयाँ तथा कार्यालय प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। शिक्षा, युवा तथा खेलकुद क्षेत्रअन्तर्गत बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ तथा राष्ट्रिय बागमती गोल्डकपका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस शीर्षकमा कुल ५ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
यसैगरी, कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर अधिकतम ५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउन १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्यतर्फ गाउँपालिकाले निर्माण सम्पन्न १५ शैयाको अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ ४७ करोड २९ लाख ४ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ २५ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
उक्त गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, विभिन्न वडाका वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles