हेटौँडा, असार ६ गते । कक्षा कोठाको अभाव भएसँगै जग्गा दान प्राप्त भइ पछि अभिभावकहरूको श्रमदान तथा आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन तथा सहयोगीहरूलाई सम्मान गरिएको छ । कैलाश गाउँपालिका वडा नम्बर ७ कोथलिटारस्थित कोथलिटार आधारभूत विद्यालयका अध्यक्ष लोकबहादुर नेगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायका बसोबास रहेको क्षेत्रमा सञ्चालन हुँदै आएको विद्यालय प्राथमिक तहबाट क्रमशः आधारभूत तहमा स्तरोन्नति भइसकेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउँदै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय भवनका लागि जग्गादाता मानबहादुर नेगी र ट्रस भवन निर्माणमा सहयोग पु¥याउने दाता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । अभिभावकबाट एक लाख ९९ हजार ७०७ र विद्यालयतर्फबाट ६१ हजार तीन सय रुपियाँ संकलन गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, वडा सदस्य मानबहादुर चेपाङ, प्रधानाध्यापक सीताराम श्रेष्ठ, जनजागरुक युवा क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका कोषाध्यक्ष सुरेन्द्र घलान, विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती चेपाङ र रोमिका चेपाङ, पीटीए अध्यक्ष रमेश स्याङ्तान, विद्यालयका पूर्व अध्यक्ष सन्तबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयमा सुरुआती चरणमा भवन अभावका कारण खरको छानोले छाएको सामान्य घर निर्माण गरी पठनपाठन सञ्चालन गरिएको थियो । हाल अभिभावकहरूको श्रमदान र आर्थिक सहयोगमा दुई कोठे ट्रस भवन निर्माण भएपछि कक्षा ५ र ६ को पठनपाठन सञ्चालन गरिएको प्रअ श्रेष्ठले बताउनुभयो । शैक्षिक सत्र २०८३ बाट कक्षा ६ सञ्चालन सुरु गरेको विद्यालयमा हाल ईसीडी कक्षामा ३७ जना तथा कक्षा ६ मा २१ जना विद्यार्थी गरी १७० जना विद्यार्थी अध्ययनरत रहेको श्रेष्ठले बताउनुभयो ।




