कैलाशमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता

लोकप्रिय

हेटौँडा, असार ६ गते । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा चौथो उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । कैलाश गाउँपालिका–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताको उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, वडा ७ का वडाध्यक्ष उदासकुमार भोेलन, वडा ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, प्रमुख रेफ्री विनोद श्रेष्ठ, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नं. ५ ले वडा नं. ९ लाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो । वडा नं. ५ ले नं. ९ लाई २५–२१ २५–१८ मा पराजित गरेको हो । त्यस्तै प्रतियोगिताअन्तर्गत वडा नं. ७ र ८ बीच भएको खेलमा ८ ले ७ लाई २६–२४,२०–२५, १५–११ अंकले पराजित गरेको थियो । त्यस्तै, वडा नं. ८ र १० बीच भएको खेलमा ८ ले १० लाई १९–२५, २५–२२, १६–१४ अंक ल्याई पराजित गरेको थियो ।
खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाका अनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार र उपविजेताले ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता पहिलो चरणमा लिग प्रणाली र दोस्रो चरणदेखि नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles