नेपाल बैङ्कको प्रादेशिक कार्यालय उद्घाटन

लोकप्रिय

हेटौँडा, असार ८ गते । नेपाल बैङ्क लिमिटेड बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित भवनको आइतबार हेटौँडामा उद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय र नागरिकको अपेक्षा अनुसार बैङ्कले सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालको बैङ्किङ क्षेत्रमा नेपाल बैङ्कको महत्वपूर्ण योगदान रहेको बताउँदै देश आधुनिकीकरणतर्फ उन्मुख हुँदै गर्दा स्थापना भएको यस बैङ्कले अत्याधुनिक भवनबाट आधुनिक सेवा प्रदान गर्नु पर्ने बताउनुभयो ।
उहाँले बैङ्कले नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई सुदृढ गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले बैङ्कले नयाँ रणनीतिका साथ सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्ने भन्दै बैङ्कप्रति विश्वास र भरोसा जगाउन उत्पादनसँग जोडिने कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैङ्कको लगानीको अवस्थाका बारेमा चर्चा गर्दै बैङ्कले आफ्नो सेवा सुविधामा सुधार ल्याएको बताउनुभयो ।
कार्यक्रममा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रराज काफ्ले र मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटले बोल्नुभएको थियो ।
बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित भवन चार करोड ७२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।

ताजा समाचार

Related Articles