काठमाडौँ, असार १५ गते । महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ । सोमबार महालेखा परीक्षक कार्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उहाँको भनाइ छ । उहाँले कार्यलयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले कार्यलयले चालु आर्थिक वर्षदेखि लागु हुनेगरी रणनीतिक योजना २०८२र८३–२०८६र८७ स्वीकृत गरी कार्यन्वयनमा ल्याएको जानकारी दिनुभयो । लेखा परीक्षणको क्रममा स्थलगत अनुमगन गर्ने गरेको उहाँको भनाइ छ ।

आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेट्ने गरी २१ जिल्लामा लेखा परीक्षणको क्रममा स्थलगत अनुगमन गर्ने र सरोकारवालाको गुनासो र सुझाव लिने बताउनुभयो । उहाँले सार्वजानिक क्षेत्रको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्ने जानकारी दिनुभयो । महालेखाले २०८१र८२ मा पाँच हजार ५२६ वटा निकाय तथा कार्यलयको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरिएको जानकारी दिनुभयो ।

सोमध्ये वित्तिय लेखा परिक्षणतर्फ ८८ अर्ब नौ करोड ११ लाख रुपियाँ बेरुजु कायम हुन आएको बताउनुभयो । उहाँले प्रतिवेदन अवधीसम्म ६३ अर्ब १२ करोड ९५ लाख रुपियाँ सम्परीक्षण भएको र सोमध्ये लेखा परीक्षण तथा संपरीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपियाँ असुल भएको जानकारी दिनुभयो ।




