मकवानपुर, असार १६ गते । मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कका एक किसानले लगाएको बुद्धचित्तको दाना रुखबाटै चोरी भएको छ। स्थानीय सुनिल मुक्तानले आफ्नो बारीमा लगाएको बुद्धचित्तको दानाका लागि व्यापारीसँग बैना लिएको अवस्थामा रुखमै रहेको दाना चोरी गरिएको हो। यसअघि काभ्रेमा पनि बुद्धचित्तका दाना रुखबाटै चोरी हुने घटना सार्वजनिक हुँदै आएका थिए। मालामा प्रयोग हुने करिब सात लाख रुपियाँ बराबरको बुद्धचित्त दाना रुखबाटै चोरी भएपछि मुक्तान प्रहरीको शरणमा पुग्नुभएको छ।

यही असार १४ गते राति करिब १ः३० देखि २ः३० बजेको बिचमा परिवार सुतिरहेको अवस्थामा ठुलो समूहमा आएका चोरहरूले बुद्धचित्तको रुखबाट दाना चोरी गरेको उहाँले बताउनुभयो। आइतबार बिहान करिब ५ देखि ६ बजेको समयमा बारीमा गएर हेर्दा दाना रहेका हाँगाहरू लछारपछार गरी भाँचेर लगिएको अवस्थामा भेटिएको उहाँको भनाइ छ। “पाँच लाख रुपियाँ बुद्धचित्तको दानाका लागि व्यापारीसँग बैना लिएको थिएँ,” मुक्तानले भन्नुभयो, “करिब १२ लाख रुपियाँ यो वर्षको आम्दानी हुने अनुमान थियो, तर आम्दानीको स्रोत नै गुम्यो।” चोरीपछि बाँकी रहेका करिब तीन–चार माला मात्र बुद्धचित्त दाना व्यापारीलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो। यस वर्ष ठुलो नोक्सानी भएको उहाँको भनाइ छ। गत वर्ष उहाँले करिब आठ लाख रुपियाँ बराबरको बुद्धचित्त दाना व्यापारीलाई बिक्री गर्नुभएको थियो।

करिब १६ वर्षअघि रोपिएको एउटा मात्र बुद्धचित्तको बोटबाट उत्पादन सुरु भएको हो। दुई वर्षअघि थप २१ वटा बोट रोपिएको र ती आगामी वर्षदेखि उत्पादनयोग्य हुने उहाँले बताउनुभयो। मुक्तानले बुद्धचित्तको दानाबाट आम्दानी लिन थालेको पाँच–छ वर्ष भएको छ। पहिले यसको मूल्य र बजारबारे जानकारी नभएकाले लामा गुरुलाई निःशुल्क दिने गरेको भए पनि पछि व्यापारी आएपछि बिक्री सुरु गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार चोरीमा ठुलो समूह संलग्न भएको देखिन्छ। बारीको घाँससमेत मिचिएको छ, कतिपय हाँगा भाँचेर दाना लिएर गएको पाइएको छ।

उता कैलाश–५ मा बुद्धचित्तका बोट लगाउनुभएका रत्नबहादुर गोलेले यस्तो घटनाले गाउँमा सुरक्षा चुनौती बढेको बताउनुभयो। उहाँले राम्रो गुणस्तरको दाना भएमा एउटै मालाको २० लाख रुपियाँसम्ममा बिक्री हुने पनि बताउनुभयो। बुद्धचित्त दाना चोरी भएपछि मुक्तान कैलाश गाउँपालिका–१ स्थित डाँडाखर्क प्रहरी चौकी पुगेर निवेदन दिनुभएको छ। उहाँले करिब सात लाख रुपैयाँ बराबरको दाना चोरी भएको भन्दै दोषीलाई खोजी गरी कारबाही गर्न माग गर्नुभएको छ। पछिल्ला वर्षमा मकवानपुरको कैलाश, मकवानपुरगढी, राक्सिराङ, हेटौँडा, टिष्टुङ लगायतका स्थानमा बुद्धचित्त खेती गर्नेको संख्या बढ्दै गएको छ। गोरखापत्र अनलाइनबाट साभार ।




