खासकुरा संवाददाता
हेटौँडा, असार १७ गते । बागमती सरकारको आगामी आर्थिक २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल सकिएको छ ।
प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सङ्घीयताको मर्म अनुसार आगामी आवको बजेट आएको बताउनुभयो ।

बजेटमाथिको छलफलको क्रम उठेको प्रश्नहरुको बुधबारको प्रदेश सभाको बुधबारको बैठकमा जवाफ दिँदै
मन्त्री तामाङले सङ्घीयताको मर्म र भावनालाई आत्मसात गर्दै आगामी आवको बजेट आएको बताउनुभयो । उहाँले बजेट सन्तुलित रुपमा आएको भन्दै राजस्वको यथार्थपरक अवस्था अनुमान गर्नुपर्ने भएकोले चालु आवको भन्दा आगामी आवको बजेट घटाएर ल्याएको उल्लेख गर्नुभयो
सङ्घबबाट सात अर्ब आएको र बाँकी राजस्व, करबाट प्राप्त भएको भन्दै सङ्घीय अनुदानमा मात्र प्रदेशको बजेट निर्भर नरहेको बताउनुभयो ।
बागमती प्रदेशको राजस्वको मुख्य श्रोत घरजग्गा रजिष्ट्रेसन र यातायातको राजस्व कर भएको चर्चा गर्दै उहाँले भन्नुभयो, आगामी आवको बजेट अझ उन्नत र राजस्वलाई टेवा पुग्ने गरी आएको छ ।

उहाँले एक अर्बको प्राङ्गारिक मलको पाइलट प्रोजेक्ट ल्याउने गरी बजेट व्यवस्था गरिएको, नवप्रवर्तनको कार्यक्रम, स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण एवं विशिष्टकृत सेवा दिने गरी बजेट विनियोजन भएको भन्दै बजेट वितरण प्रणालीलाई सन्तुलित बनाउने प्रयास गरिएको बताउनुभयो ।
उहाँका अनुसार मकवानपुरमा १३.१ प्रतिशत, सिन्धुपाल्चोकमा ९.९ प्रतिशत, चितवनमा ८.७५ प्रतिशत, नुवाकोटमा ८.३३ प्रतिशत, रामेछापमा ७.८६ प्रतिशत, ललितपुरमा ७.४७ प्रतिशत, काठमाडौँमा ७.४१ प्रतिशत, धादिङमा ७.३९ प्रतिशत, काभ्रेमा ७.२८ प्रतिशत, सिन्धुलीमा ६.८८ प्रतिशत, दोलखामा ५.४२ प्रतिशत, भक्तपुरमा ५.३३ प्रतिशत र रसुवामा ४.८४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यसअघि बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य माया शर्माले आगामी आवको बजेट छरिएर आएकको, ठोस रुपमा बजेट नआएको भन्दै टुक्रे योजना र कार्यकर्ता पाल्ने गरी बजेट आएको बताउनुभयो । मन्त्री, पूर्वमन्त्री, नेता, विचौलिया र कर्मचारी केन्द्रित भएर बजेट आएको उहाँको आरोप छ ।
प्रदेश सभा सदस्य भुवनकुमार पाठकले बजेटमा दुरगामी प्रभाव पार्ने योजना नआएको भन्दै काठमाडौँमा बढ्दो प्रदुषण नियन्त्रण, ट्राफिक व्यवस्थापन र फोहोर व्यवस्थापनका लागि कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजेन्द्र प्रजापति बजेटमा भेदभाव भयो र प्रदेशको बजेट खरिद बिक्री हुने गरेको भन्दै, आसेपासेलाई व्यवस्थापन गर्न बजेट दिने गरेको बताउनुभयो ।
उहाँले प्रदेशका योजनाहरुका भ्रष्टाचार हुने गरेको र प्रतिष्ठानका नाममा बजेट दिने गरेको बताउनुभयो ।
प्रदेश सभा कृष्णप्रसाद शर्मा खनालले बजेटमा पर्यटन प्राथमिकतामा नपरेको भन्दै बजेटलाई व्यवहारमा कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार मेट्रो रेलको अध्ययन गर्न १० लाख रुपियाँ मात्र विनियोजनको औचित्य पुष्टि नहुने भन्दै काठमाडौँ उपत्यकाभित्रै खानेपानीको समस्या छ प्रदेश सरकारले संवोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले शिक्षा र स्वास्थ्यमा सहुलियत दिने गरी कार्यक्रम र बजेट नआएको भन्दै मन्त्रालय घटाउनु सकारात्मक हो तर विषय नमिल्ने मन्त्रालय गाभेकोप्रति असहमति जनाउनु भयो ।
प्रदेश सभा सदस्यहरु प्रेमभक्त महर्जन, मातृका प्रसाद भट्टराई , भारती पाठक, गंगा नारायण श्रेष्ठ, सिर्जना सायजु, उर्मिला कुमारी लामा, कुमारी तामाङ, लक्ष्मण लम्साल, आशा लामा, सुरेन्द्रराज गोसाईले अहिलेसम्मको बजेट सफल नभएको हेर्दा यो बजेट पनि सफल नहुने देखिन्छ भन्नुभयो ।
प्रदेश सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।




