खासकुरा संवाददाता
हेटौँडा, असार १७ गते । मकवानपुरको बकैयाका विराज मुक्तान यतिखेर हेटौँडा अस्पतालको शय्यामा हुनुहुन्छ ।
किशोरावस्थामा नै आफ्ना सन्तानको दुवै मृगौलाले काम नगर्ने भएपछि आर्थिक रुपमा कमजोर रहेको बकैया गाउँपालिका १२ महादेवडाँडाका १७ वर्षीय विराजको परिवारमा चिन्ता थपिदिएको छ ।
यतिखेर जीवनको आशा साचेर विराज सहयोगी मनको खोजीमा हेटौँडा अस्पतालमा उपचाररत हुनुहुन्छ ।

भरतपुर र काठमाडौँका विभिन्न अस्पातलमा उपचारपछि पनि सुधार नभएपछि विराज चार दिनदेखि हेटौँडा अस्पतालमा डायलासिस गराउँदै आउनुभएको छ । एकातिर गम्भीर रोगले च्यापेको र अर्कोतर्फ आर्थिक रुपमा परिवार कमजोर भएकोले विराजको परिवारले उपचार खर्च जुटाउन सहयोगको याचना गर्दै आएका छन् ।
अस्वस्थ भएर उपचारकै क्रममा स्थानीय प्रशासनले विराजलाई अस्पतालको शय्यामा नै नागरिकता प्रदान गरेको छ ।
जन्मदर्ताको भरमा मात्र उपचारमा सरकारी सेवा सुविधा लिन समस्या हुने भएपछि बकैया गाउँपालिका १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईको समन्वय र सहजीकरणमा विराजले नागरिकता पाउनुभएको हो ।

वडाध्यक्ष बजगाईको आग्रहमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोली बुधबार हेटौँडा अस्पतालमा पुगेर नागरिकता प्रदान गरेको हो ।
वडाध्यक्ष बजगाईले उपचारमा सरकारी सेवा सुविधाले लिन सहजताका लागि वडा कार्यालय र प्रशासनबाट आवश्यक प्रक्रिया पुरा गरी नागरिकको प्रमाणपत्र विराजलाई प्रदान गरिको बताउनुभयो ।
सरसापट र ऋण गरेर विराजको उपचार गरेपनि निको नभएको भन्दै वडाध्यक्ष बजगाईले थप उपचारका लागि विराजका परिवारले आग्रह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, विरोजको परिवारलाई दैनिक चलाउन पनि समस्या रहेको र उपचारमा सहयोगको आवश्यक छ ।
विराजका पिता नारायणले विभिन्न अस्पतालमा उपचार गर्दा भएको पैसा पनि सकियो तर छोराको स्वास्थ्यामा सुधार नआएकोले डायलासिसलगायत थप उपचार आवश्यक भएको भन्दै सहयोगको खोजी गरिएको बताउनुभयो ।




