भाषा र संस्कृतिको संरक्षण प्रदेश सरकारको दायित्वः प्रदेश सचिव सुवेदी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १८ गते । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा संस्कृत वेद विद्यालय, हेटौँडा–१० को समन्वयमा भएको संस्कृत (सम्भाषण) भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले संस्कृत भाषासँगै प्रदेशभित्र बसोबास गर्ने सबै समुदाय र बासिन्दाको भाषा र संस्कृतिको संरक्षण र प्रवर्धनमा सहयोग गर्दै आएको बताउनुभयो ।
संस्कृत भाषा विश्वका अन्य भाषाको पनि जननी भएको चर्चा गर्दै उहाँले भन्नुभयो अहिले हामीले यसको संरक्षण गर्न नसके लोप भएर जाने छ, हाम्रा भावी पुस्तालाई हस्तान्तरण गर्न सक्दैनौ, यसैले पनि संस्थागत रुपमा संरक्षणको खाचो छ ।
उहाँले भन्नुभयो, संस्कृत भाषा हाम्रो देशमा मात्र होइन विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पढाई हुन्छ, संस्कृति हाम्रो सभ्यतालाई विश्वभर लैजाने माध्यम पनि हो त्यसैले यसको संरक्षण अत्यावश्यक छ । भाषा र संस्कृतिको संरक्षण प्रदेश सरकारको दायित्व भएको चर्चा गर्दै उहाँले भाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले विगतमा ऐन कानुन नबन्दा पनि धर्म र संस्कृतिले समाजलाई एकीकृत बनाएर राखेको भन्दै संस्कृतिलाई जोगाउने हाम्रो दायित्व भएको बताउनुभयो ।
विद्यालयको प्रशासनलगायत शैक्षिक गतिविधिमा पछिल्लो समय सुधार आएको स्मरण गर्दै उहाँले सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश धिताल, भाषा प्रशिक्षक डा. नवीन नेपाल, प्रशिक्षार्थीहरु मधु सुवेदी, तुलसा न्यौपाने, हरिप्रसाद पौडेल, राममणि दाहालले संस्कृतको महत्व र यसको संरक्षणको आवश्यकताका बारेमा चर्चा कार्यक्रमको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो ।
४० दिनसम्म संस्कृत व्याकरण, पूजा विधि, पञ्चाङ्गलगायतका बारेमा प्रशिक्षण दिइएको सो कार्यक्रममा ४० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles