पत्रकारिता लोकतन्त्रको मेरुदण्डः नगर प्रमुख लामा

लोकप्रिय

हेटौँडा, असार १८ गते । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।
उपमहानगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले हेटौँडामा बिहीबार आयोजना गरेको फिचर लेखन प्रतियोगिता प्रोत्साहन वितरण कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने बताउनुभयो ।
नगरप्रमुख लामाले पत्रकारिता ऐन र समाजको मेरुदण्ड भएकाले चर्चा गर्दै सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता गर्न आग्रह गर्नुभयो । सामाजिक रूपान्तरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
प्रतियोगितामा अञ्जली थापा सर्वोत्कृष्ट हुँदै ४५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा कृष्णा विष्ट (सुनिता) , रुपक कालिराज, प्रतीक्षा न्यौपाने, मनिता राना, आरती ढकाल, सन्तोष साह शंकर, सुजन ढकाल, बसन्त भण्डारी, नवीन राउत र जमुना थिङ फिचर लेखनमा उत्कृष्ट हुनुभयो ।
उत्कृष्ट हुनेलाई जनही १० हजार तथा गोविन्द न्यौपाने र रोहित थापा सान्त्वना हुँदै पाँच हजार रुपियाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ जनाको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्ट, महासंघका पूर्व जिल्ला अध्यक्ष राममणि दाहाल, सम्मानित अन्जली थापालगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles