हेटौँडा, असार १८ गते । बागमती प्रदेशमा कृषि उत्पादनका लागि अत्यावश्यक मानिने रासायनिक मलको आपूर्ति मागको तुलनामा निकै कम भएको पाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मागको तुलनामा हालसम्म करिब २५ प्रतिशत मात्र मल आपूर्ति भएको छ ।

मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशका १३ जिल्लामा कुल २ लाख ७६ हजार ५७५ मेट्रिक टन रासायनिक मलको माग रहेको थियो । तर, हालसम्म कुल ७१ हजार ६६ मेट्रिक टन अर्थात् २५.७ प्रतिशत मात्र आपूर्ति भएको छ ।

उहाँका अनुसार हालसम्म युरिया मल १ लाख ५१ हजार ५१५ मेट्रिक टन माग रहेकोमा ४४ हजार २७, डि.ए.पी. ८३ हजार २६० मेट्रिक टन माग रहेकोमा २६ हजार ४३९ र पोटास ८ हजार ५०० मेट्रिक टन माग रहेकोमा १०० मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

मन्त्रालयका सूचना अधिकारी एवम् बागमती प्रदेशका मल आपूर्ति तथा वितरण फोकल पर्सन सुदिप भुजेलले मागको तुलनामा आपूर्ति निकै कम भए पनि रासायनिक मल वितरणलाई व्यवस्थित बनाइएको बताउनुभयो ।

हालसम्म प्राप्त मल मध्ये दोलखामा ३ हजार १५३ मेट्रिक टन, सिन्धुपाल्चोकमा ४ हजार ३२८, रसुवामा ७८५, धादिङमा ८ हजार ६, नुवाकोटमा ७ हजार ९३७ मेट्रिक टन वितरण भएको छ । यस्तै काठमाडौँ ३ हजार १८८, भक्तपुरमा २ हजार ६२३, ललितपुरमा २ हजार १८२, काभ्रेपलाञ्चोकमा ११ हजार ६५५.२५, रामेछापमा ३६१५, सिन्धुलीमा ४ हजार ९०३, मकवानपुर ६ हजार ३६३.९२, चितवनमा १० हजार ९९५.२ मेट्रकटन मल वितरण भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८३÷८४ का लागि पनि मलको माग उच्च देखिएको उहाँले बताउनुभयो । आगामी वर्षका लागि युरियाको माग १ लाख ६४ हजार १९३ मेट्रिक टन, डि.ए.पी.को माग ८६ हजार ८७ मेट्रिक टन र पोटासको माग ३ हजार ७५९ मेट्रिक टन गरि कुल २ लाख ८७ हजार ६३९ मेट्रिक टन पुगेको उहाँले बताउनुभयो ।

हरेक वर्ष मलको माग उच्च हुँदै गएपनि समयमा नै पर्याप्त मल आपूर्ति हुन नसक्दा कृषि उत्पादन र किसानको जीविकोपार्जनमा नकारात्मक असर पर्ने देखिएको छ ।




