बागलुङ, असार २१ गते । जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना जाँचगर्दा ७७ नमुनामा कोलिफर्म भेटिएको हो । गत वर्षको तुलनामा कोलिफर्म भेटिनेक्रम घट्दै गए पनि पानी शुद्वीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि कोलिफर्म भेटिनेक्रम रोकिएको छैन । गतवर्ष तीनसय ४१ नमुना जाँचगर्दा एकसय २५ मा कोलिफर्म भेटिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा दुईसय ८ नुमना परीक्षण गर्दा ७३ स्थानको खानेपानीमा कोलिफर्म देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । ‘‘अघिल्लो वर्षको तुलनामा घटे पनि कोलिफर्मको समस्या र त्यसबाट सिर्जित रोगको समस्या पनि उत्तिकै छ’’ प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भन्नुभयो ।

कोलिफर्मको समस्या देखिएको स्थानमा खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीय तहमा समेत जानकारी गराउने र सचेतनाका कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो । ‘‘कोलिफर्म भेटिएपछि हामीले मुहान र आयोजनामा सरसफाइ गर्न, पानी शुद्वीकरणका उपाय खोज्न र घर–घरमा पानी उमालेर खान सल्लाह दिएका छौं’’ शर्माले भन्नुभयो ।

चालु वर्षमा घनाबस्ती रहेको बागलुङ नगरपालिका क्षेत्रका ३६ मुहानको पानी जाँचगर्दा ५ नमुनामा कोलिफर्म देखिएको छ ।




