काठमाडौँ, असार २१ गते । नेपाली कांग्रेसले सरकारका शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन नभएका विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सरकारका कार्यप्रगति नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठनको एक सय दिन पूरा भएको सन्दर्भमा बसेको बैठकले मन्त्रालयगत संयोजकले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्य अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

यसै गरी नेकपा (एमाले) ले सरकारले एक सय दिनमा एक सय काम गर्ने वाचासहित हरेक कामका लागि निश्चित समयसीमा तोकेर कार्य प्रारम्भ गरेको स्मरण गराउँदै यस अवधिमा सरकारका काम अत्यन्त फितलो भएको दाबी गरेको छ । महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलका घोषणापत्रका आधारमा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने आकर्षक नारा अगाडि सारिए पनि व्यवहारमा त्यसको विपरीत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको र प्रतिबद्धता अनुरूपको साझा राष्ट्रिय दस्ताबेज तयार नभएको बताउनुभयो ।




