काठमाडौँ, असार २३ गते ।पछिल्ला केही वर्ष देखि डेङ्गु सङ्क्रमणदर घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतका किट जन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पछिल्लो केही वर्ष देखि डेङ्गु सङ्क्रमणदर घट्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले डेङ्गु सङ्क्रमणमा कमी आएको छ । तथ्याङ्क अनुसार गत वर्ष यो महिनामा ५३० जनामा डेङ्गु सङ्क्रमण भएकोमा यो वर्ष २९२ जनामा मात्र पुष्टि भएको छ । सन् २०२२ यत डेङ्गु सङ्क्रमण घट्दै गएको उहाँको भनाइ छ ।

उहाँका अनुसार सन् २०२२ मा ५४ हजार ७८४, सन् २०२३ मा ५२ हजार ७९०, सन् २०२४, ४१ हजार ८६५ र सन् २०२५ मा आठ हजार ९३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै, डेङ्गुबाट हुने मृत्यु दर पनि घट्दै गएको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा ८८, सन् २०२३ मा २०, २०२४ मा १५, २०२५मा ६ र सन् २०२६ मा दुई जनाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। पाँच वर्षको तथ्याङ्कअनुसार सात प्रदेशमध्ये मधेश प्रदेशमा डेङ्गुका बिरामीको प्रतिवेदन सबैभन्दा कमी रहेको उहाँको भनाइ छ । डेङ्गु सङ्क्रमण घटेपनि पनि यसको जोखिम ७७ वटै जिल्लामा १२ महिना रहेकोले सचेत रहन डा.दाहालले आग्रह गर्नुभयो ।

सरकारले डेङ्गु नियन्त्रण गर्न सरकारले गत वर्षदेखि असार अन्तिमदेखि कात्तिकसम्मको अवधिलाई बढी जोखिमयुक्त समय मानेर विशेष निगरानी र सचेतना अभियान सञ्चालन गर्दै आएको छ । साउन महिनालाई डेङ्गु सचेतना महिनाका रूपमा मनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने उहाँको भनाइ छ । डेङ्गु नियन्त्रणमा स्वास्थ्य क्षेत्रको मात्र भूमिका पर्याप्त नहुने भन्दै अटो वर्कसप, अटोमोबाइल सेन्टर, कवाडी तथा रिसाइकल व्यवसाय, होटल, विद्यालय र विभिन्न छाता सङ्गठनसँग समन्वय गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

ती संस्थाको जिल्ला तहसम्मको सञ्जालमार्फत डेङ्गी नियन्त्रणसम्बन्धी सूचना र अभियान विस्तार गरिने जनाइएको छ ।डेङ्गु सङ्क्रमण पूर्ण रूपमा शून्यमा झार्न कठिन भए पनि समयमै उपचार र उचित व्यवस्थापनबाट मृत्यु घटाउन सकिने उहाँको भनाइ छ । यसका लागि सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डेङ्गी बिरामीको पहिचान, उपचार र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण दिइँदै आएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका शाखा प्रमुख डा.अमृत पोखरेलले कोभिड–१९ महामारीपछि नेपालमा रोग निगरानी तथा प्रतिकार्य प्रणाली थप सुदृढ बन्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार अब रोग वा प्रकोप फैलिसकेपछि मात्र प्रतिकार्य गर्नेभन्दा पनि सम्भावित जोखिमका प्रारम्भिक सङ्केत पहिचान गरी समयमै नियन्त्रणमा केन्द्रित प्रणाली विकास गरिएको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.अनुज भट्टचनले जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार स्थानीय, प्रदेश वा सङ्घीय तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा.विमल शर्मा चालिसे रोग लागेपछि उपचार गर्नुभन्दा रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुहुन्छ । स्वास्थ्य समस्या समाधानका धेरै निर्धारक स्वास्थ्य क्षेत्रबाहिर हुने भएकाले वातावरण, सरसफाइ, पशु स्वास्थ्य, खानेपानी तथा खाद्य सुरक्षाका विषयमा पनि सञ्चारमाध्यमले निरन्तर ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।




