हेटौँडा, असार २४ गते । मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।

बसमा चालकसहित १६ जना सवार थिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर पाँच जना घाइतेको उद्धार गरी मनहरी अस्पताल पुर्याएको थियो। सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर विक, चितवनको भरतपुर महानगरपालिका–४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर गाउँपालिका–३ का ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल गाउँपालिका–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका २५ वर्षीय सुधीरकुमार घाइते हुनुभएको छ। उहाँहरूको टाउको, निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्थानीयवासीको सहयोगमा दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाएर सुरक्षित स्थानमा राखिएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको र अन्य यात्रुलाई वैकल्पिक सवारीमार्फत गन्तव्यतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो।




