हेटौँडा, असार २८ गते । चितवनस्थित नेपाल पुलिस स्कुल शान्तिपुरले आफ्ना अभिभावकहरुलाई निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सूचना प्रविधिसम्बन्धी ज्ञान सिप प्रदान गर्ने उद्देश्यले शनिबारबाछ स्कुलले कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । अभिभावकहरुलाई कम्प्युटरको प्रयोगदेखि सामाजिक संजालबाट हुने गैरकानुनी गतिविधिका साथै आफ्ना छोराछोरीहरुले कम्प्युटर, मोबाईलमा के चलाउँदै छन् भन्नेसम्मको निगरानी गर्नसक्ने दक्षता प्रदान गर्न प्रशिक्षण प्रदान गरिने स्कुलले जनाएको छ ।
अभिभावकहरुलाई कम्प्युटरको आधारभूत ज्ञान, सचूना प्रविधिको आवश्यकता एवम् प्रयोग, साईब्रर क्राइम, विभिन्न डिजिटल एप्लिकेशनको प्रयोग, स्कुल एपको संचालनका साथै अनलाईनमार्फत हुनसक्ने ठगीको सम्बन्धमा ज्ञान सिप प्रदान गर्ने गरी पाँच कार्यदिन अवधिको तालिम संचालन गरिएको हो ।
विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकलाई दैनिक डेढ घण्टाका दरले विद्यालयका शिक्षक, प्रविधिसम्बन्धी ज्ञान भएका प्रहरी कर्मचारीहरुले प्रशिक्षण दिने छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले कम्प्युटर प्रशिक्षणको उद्घाटन गर्नुभयो ।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले विद्यालय र अभिभावक बिचको पारस्परिक सम्बन्धलाई वस्तुनिष्ठ बनाउने, सूचना प्रविधिमा अब्बल हुँदै गरेका आफ्ना सन्ततिहरुलाई थप हौसला प्रदान गर्ने र आधुनिक प्रविधिको समयलाई सहजै आत्मासाथ गर्नसक्ने वातावरण तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
विद्यार्थीलाई नियमित पठनपाठनमा सूचना प्रविधिका साथै विभिन्न डिजिटल साधन स्रोतको प्रयोग अनिवार्य जस्तै भएको अवस्थामा अभिभावकले उक्त तथ्यलाई गलत रुपमा बुझिदिने र विद्यार्थीहरुले समेत प्रविधिको दुरुपयोग गरेर पठनपाठनलाई बेवास्ता गर्ने जस्ता समस्या देखिएको हुँदा अभिभावकहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम संचालन गरीएको समादेशक थापाको भनाई छ ।
प्रथम चरणमा २० जना अभिभावकलाई प्रशिक्षण दिइने छ । विद्यालयमा आफ्ना छोराछोरीले प्रयोग गर्ने कम्प्युटर ल्याबमै बसेर अभिभावकले सूचना प्रविधिसम्बन्धी ज्ञान सिपहरु सिक्नेछन् । उक्त विद्यालयमा कक्षा एक देखि १० सम्म सात सय विद्यार्थी अध्ययरत छन् ।




