हेटौँडा, साउन १ गते । मकवानपुरका निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी संघ मकवानपुरको साधारणसभा आगामी भदौ महिनामा हुने भएको छ ।
भदौ २७ र २८ गते हेटौँडामा २६ औँ साधारण सभा गर्ने गरी सङ्घको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।
बैठकले साधारण सभाका सहभागिता र मताधिकार प्रयोगका लागि आगामी भदौ २० गतेसम्ममा सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको संघका महासचिव राजेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँले सदस्यता नवीकरण अनिवार्य गरिएको भन्दै तोकिएकको समयमा नवीकरण नगर्ने व्यवसायीले साधारण सभाका क्रममा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा मताधिकारको प्रयोगसँगै उम्मेदवार बन्न नपाउने बताउनुभयो ।
बैठकले संघको हेटौँडा उपमहानगरपालिका ४ मा निर्माणाधीन भवन निर्माणमा सहयोग गर्ने बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका, निर्माण व्यवसायीलगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
सो अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व महासचिव एवं सल्लाहकार सरोज खनाल र साधारण सदस्य पुरुषोत्तम पुडासैनी नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा र कार्यसमिति सदस्य निर्वाचित हुनुभएकोमा बैठकले बधाई ज्ञापन निर्णयसहित नवनिर्वाचित अध्यक्षलाई सम्मान गरिएको थियो ।
आगामी साधारणसभाले सङ्घको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने संघका अध्यक्ष बालगोपाल कँडेलले बताउनुभयो । उहाँका अनुसार बैठकमा निर्माण क्षेत्रका वर्तमान समस्यासँगै खरिद ऐन, निर्माण सामाग्रीमा भएको मूल्य वृद्धिका कारण निर्माण उद्योगको क्षेत्रमा परेका प्रभावका बारेमा छलफल भएको थियो ।
संघको मनोनितसहित २५ सदस्यीय कार्यसमिति रहने विधानमा व्यवस्था रहेको छ ।
संघमा हाल पाँच सय निर्माण व्यवसायी आवद्ध रहेका छन् ।




