मकवानपुर, साउन ३ गते । बागमती गाउँपालिका वडा नं. १ स्थित बोटगाउँ ढाबी क्षेत्रमा पानी जम्दा मकवानपुर र सिन्धुली जिल्लाका स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ। समस्या बढ्दै गएपछि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान प्राविधिक टोलीसहित उक्त स्थानमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा अध्यक्ष घलानले तत्काल समाधानका लागि जमेको पानी वैकल्पिक मार्गबाट बागमती नदीतर्फ निकास गर्ने व्यवस्था मिलाउन सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिनुभएको छ। साथै, दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी स्थायी निकासको व्यवस्था गर्नसमेत जोड दिनुभएको छ।
गाउँपालिकाका अनुसार, चालु आर्थिक वर्षमा उक्त स्थानमा बक्स कल्भर्ट निर्माणका लागि प्रदेश सरकारमार्फत बजेट व्यवस्थापन भइसकेको छ। निर्माण कार्य सम्पन्न भएपछि वर्षायाममा हुने डुबान तथा आवतजावतमा देखिएको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ।
स्थानीयहरूले वर्षायाममा बारम्बार यस्तो समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक पहल तीव्र बनाउने जनाएको छ।



