नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा

लोकप्रिय

काठमाडौँ, साउन ११ गते । नागढुङ्गा/सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो ।

उहाँले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबिच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिनुभयो । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबिचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गर्नुभयो । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उहाँको भनाइ थियो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।

यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ । मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ ।

ताजा समाचार

Related Articles