काठमाडौँ, साउन ११ गते । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदै गर्दा तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । मौसमविद्ले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढेको छ भने दुवै देशले ठूलो सङ्ख्यामा अग्निनियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन् । दक्षिणपश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डढेलोमध्ये एक बनेको अधिकारीहरूले बताएका छन् । फ्रान्समा डढेलोका कारण ‘पाइरोकुमुलोनिम्बस’ भनिने विशाल आगोको बादल बनेको छ । यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङमार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासङ्घले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्कालीन अवस्थाबारे छलफल गर्न सोमबार सङ्कट व्यवस्थापन बैठक बोलाउनुभएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उहाँले यसअघि कठिन अवस्था अझै बाँकी रहेको चेतावनी दिनुभएको थियो ।

स्पेनका अधिकारीहरूका अनुसार अविला क्षेत्रमा मात्रै करिब ७७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणका लागि २८० किलोमिटर परिधिमा अभियान सञ्चालन भइरहेको छ । भ्यालेन्सिया क्षेत्रमा थप डढेलो फैलिँदा १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । म्याड्रिड, अविला, टोलेडो र कास्टेलन क्षेत्रबाट करिब ७५ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन् । फ्रान्सको गिरन्डे क्षेत्रमा करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ४५ वटा शिविर बन्द गरिएका छन् भने करिब ४० हजार पर्यटकको बिदा प्रभावित भएको छ । स्थानीय प्रशासनले स्काउट शिविर र अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित बिदा शिविरसमेत बन्द गर्न आदेश दिएको छ । आगोले बुधबारयता गिरन्डे क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र र कम्तीमा २४० घर ध्वस्त पारेको छ । बोर्डेक्सको दक्षिणतर्फको मुख्य राजमार्ग र रेल सेवा अवरुद्ध भएका छन् । रक्षा मन्त्रालयले बोर्डेक्स आसपासका एयरोस्पेस उद्योगको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।

आगो नियन्त्रणका क्रममा गिरन्डे क्षेत्रमा ८४ जना अग्निनियन्त्रक घाइते भएका छन् । तीमध्ये १० जनालाई उपचारका लागि अन्यत्र सारिएको छ । फ्रान्सका अग्निनियन्त्रक सङ्घले विषाक्त धुवाँबाट जोगिने पर्याप्त सुरक्षात्मक सामग्रीको अभाव रहेको जनाएको छ । हाल गिरन्डे क्षेत्रमा करिब दुई हजार ५०० अग्निनियन्त्रक, एक हजार ५०० सैनिक र एक हजार २०० प्रहरी परिचालन गरिएका छन् । बोर्डेक्सका मेयर थोमस क्याजेनाभले सहर खाली गर्ने कुनै योजना नरहेको तर अवस्था निरन्तर निगरानीमा रहेको बताउनुभएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता चरम डढेलो झन् तीव्र र बारम्बार हुन थालेको बताएका छन् । मौसमविद्का अनुसार फ्रान्सका केही क्षेत्रमा आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

स्पेनका राजा फेलिप छैटौँले डढेलोले देशको प्राकृतिक सम्पदामा अकल्पनीय क्षति पुर्याएको बताउँदै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ । पोप लियो चतुर्थले पनि फ्रान्स र स्पेनका प्रभावित समुदाय तथा उद्धारकर्मीका लागि प्रार्थना गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । यसैबीच इटालीको दक्षिणी पुग्लिया क्षेत्रमा पनि डढेलो फैलिँदा पेसचिची आसपासबाट चार सयभन्दा बढी पर्यटक र समुद्र किनारामा रहेका सर्वसाधारणलाई समुद्री मार्गबाट सुरक्षित स्थानमा सारिएको छ भने थप उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । एजेन्सी




