बागमती प्रदेशका प्रशासनिक संरचना निर्माणस्थलको रुख कटान गर्न आदेश

लोकप्रिय

हेटौँडा, साउन १७ गते । बागमती प्रदेश सरकारको स्थायी प्रशासनिक संरचना निर्माण गर्न रुख कटानका डिभिजन वन कार्यालय मकवानपुरले आदेश दिएको छ ।
रुख कटानका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वन डिभिजन कार्यालयबिच सम्झौता भएसँगै प्रादेशिक भवन निर्माण क्षेत्रको रुख कटानका लागि कार्यालयले आदेश दिएको हो ।
योसँगै प्रदेश सरकारलाई बागमती प्रदेशको प्रशासनिक भवनहरु निर्माण सुरु गर्न बाटो खुलेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा रहेका दुई वटा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा रहेका रुख/पोलहरु कटान गर्न मन्त्रालय र कार्यालयबिच सम्झौता भएको छ ।
नेपाल सरकारको २०८२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रादेशिक संरचना निर्माण क्षेत्रको रुख कटान गर्न आदेश दिएको डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन हजार ४८४ वटा रुख/पोलहरु कटानका लागि आदेश दिइएको छ ।
डिभिजनल वन अधिकृत चन्द्रवंशीले भन्नुभयो, आगामी पुस मसान्तभित्र रुख कटान गर्नुपर्ने सीमासहित मन्त्रालयलाई आदेश दिइएको छ ।
हेटौँडा १७ स्थित चुरेकालीलेक सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट १७८ वटा सिसौका रुख/पोल कटान गरिने छ । उक्त वन समुहबाट रुख÷पोलहरु हटाउँदा ४१.२२ क्युफिट काठ र १.६६ चट्टा दाउरा निस्कने छ ।
यस्तै हेटौँडा–१६ स्थित घ्याम्पे सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा विभिन्न प्रजातिका गरी तीन हजार ३०६ वटा रुख÷पोल कटान गर्दा १६ हजार ५६७.५८ क्युफिट काठ र ५८.५७ चट्टा दाउरा निस्कने वन कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत चन्द्रवंशीका अनुसार सामुदायिक वनबाट उत्पादन हुने काठ र दाउरा कटानपछि ती सामुदायिक वनलाई नै जिम्मा लगाउनु पर्नेछ ।
उहाँले मन्त्रालय र कार्यालयबिच रुख कटान र वातावरणीय सुरक्षाका उपायहरु अपनाउनुपर्ने सर्तहरूसहित सम्झौता भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles