पेट्रोलियम पदार्थ चोरीमा संलग्न हेटौँडाका चारसहित सात जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २४ गते । पेट्रोलियम पदार्थ चोरीमा संलग्न हेटौँडाका चारसहित सात जनालाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ बाट पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक–खण्डस्थित आईसीपी जाँचपास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्याङ्करसहित पक्राउ गरिएको हो ।
गत बिहीबार साँझ करिब ५ः१० बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनाधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारेको हो । इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनल (बिहार, भारत) बाट सिंधै २० हजार लिटर (२० केएल) क्षमताको ना ७ ख १५३९ नम्बरको ट्याङ्कर नेपाल आयल निगमको काठमाडौँको सिनमंगलस्थित हवाई इन्धन डिपो पुग्नुपर्नेमा वीरगञ्जस्थित सौदागर आयल सेन्टरमा ट्याङ्करबाट अनाधिकृत रुपमा तेल ग्यालेनमा निकालिरहेको अवस्थामा फेला पारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.३ मालपोत चोकका पेट्रोल पम्पका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, वीरगञ्ज महानगरपालिका १५ लक्ष्मणवाका पम्पमा लेखाको काम गर्ने २३ वर्षीय असलम हवारी र वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका पम्पका क्यासियर २१ वर्षीय रफिक मियाँ रहेका छन् ।
यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं.११ का ना.७ ख २८०४ नम्बरको ट्यांकरको सह–चालक २० वर्षीय सन्देश राना मगर, हेटौँडा १० का ना.७ ख २८०४ को चालक ४६ वर्षीय केशर राम सुनार, हेटौँडा १४ का ना.७ ख १५३९ ट्यांकरको चालक ५० वर्षीय मन्द सिंह लामा र हेटौँडा १४ कै २७ वर्षीय ना.७ ख १५३९ ट्यांकरको सह–चालक उमेश राना मगर पक्राउ परेका छन् ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles