रौतहट, साउन २४ गते । धानबालीका लागि आवश्यक रासायनिक मलको अभाव भएपछि रौतहटका किसान समस्यामा परेका छन् । धान रोप्ने तयारीमा रहेका किसान डिएपी मलको खोजीमा छन् भने रोपाइँ सम्पन्न गरेका किसान युरिया मलका लागि सहकारी तथा डिलर धाउन बाध्य भएका छन् ।

धान रोपाइँ सम्पन्न भएसँगै खेतमा युरिया मल हाल्ने समय भए पनि बजारमा पर्याप्त मल उपलब्ध नहुँदा किसानले सास्ती खेप्नुपरेको हो । मल आउने सूचना पाएपछि किसान बिहान उज्यालो नहुँदै सहकारी तथा डिलरको अगाडि पुगेर लाइनमा बस्ने गरेका छन् । तर, मागअनुसार मल उपलब्ध नहुँदा घण्टौँ कुर्दासमेत धेरै किसान रित्तो हात फर्किनुपर्ने अवस्था रहेको छ । रौतहटका १८ वटै स्थानीय तहमा मल वितरण गर्ने सहकारी तथा डिलरले समेत मागअनुसार मल प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आउने अनुदानको मल सीमित मात्रामा प्राप्त हुँदा किसानको माग धान्न कठिन भएको उनीहरूको भनाइ छ ।

एकै समयमा अधिकांश किसानले धान रोपाइँ सम्पन्न गरेपछि मलको माग एकाएक बढेको हो । रोपाइँका बेला डिएपी र रोपाइँ सम्पन्न भएपछि पहिलो पटक युरिया प्रयोग गर्ने भएकाले अहिले युरिया मलको माग अत्यधिक बढेको किसानहरु बताउँछन् । मल लिन पुगेका किसानबीच कतिपय स्थानमा तँछाडमछाडसमेत हुने गरेको छ । सीमित परिमाणमा मल आउने र किसानको सङ्ख्या धेरै हुने भएपछि सहकारी तथा डिलर सञ्चालकलाई व्यवस्थित रुपमा मल वितरण गर्नसमेत समस्या भएको छ । कतिपय स्थानमा विवाद हुन थालेपछि सुरक्षाकर्मीको सहयोग लिएर मल वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको वृन्दावन नगरपालिका–४ का सहकारी सञ्चालक निरस राय यादवले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा मलको अभाव अझ बढी देखिएको छ । खेतमा धानको बिरुवा हुर्किँदै गए पनि समयमा युरिया मल हाल्न नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढेको छ । वृन्दावन नगरपालिका–१ का किसान राम केवल बजगाईले धानमा मल हाल्ने समय भइसक्दा पनि सहकारीबाट सहज रुपमा मल पाउन नसकेको बताउनुभयो । “धानमा मल हाल्ने बेला भइसक्यो तर सहकारीमा पुग्दा मल सकिएको हुन्छ । बिहानैदेखि लाइनमा बसे पनि मल पाइँदैन । बाध्य भएर एक हजार रुपियाँमा पाइने युरिया मल २ हजारदेखि २३ सय रुपैयाँसम्म तिरेर किन्नुपरेको छ,” उहाँले भन्नुभयो ।




