हेटौँडा, भदौ ८ गते । बागमतीे प्रदेशसभाको बैठक मङ्गलबार अपराह्न ४ः०० बजे बस्ने गरी भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको बैठक बस्ने नसकेपछि समय र मिति परिवर्तन गरिएको हो ।
यसअघि मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका बैठक बोलाउन प्रदेश सभा सचिवालयमा पत्राचार गर्नु भएसँगै सोमबार दिउँसो १ः०० बजेका लागि समय प्रदेश सभाका उपसभामुख अपसरा चापागाईले तोक्नुभएको छ ।
दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक बस्ने अवस्था नभएपछि अपरान्ह ५ः०० बजे हुँदै राति ८ः०० बजे बस्ने गरी समय परिवर्तन गरिएको थियो । तर उपसभामुखले सोमबार राति ८ः० बजेका निर्धारण गर्नु भएको बैठक पनि दलहरुबिच सहमति नजुट्दा दिननै परिवर्तन गरी मङ्गलबार दिउँसो ४ः०० बजे बस्ने गरी समय निर्धारण गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले बताउनुभयो ।
प्रदेश सभा बैठक विशेष कारणबश निर्धारित सममा बस्न नसकेको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण पनि प्रदेश सभाको बैठक प्रभावित बनेको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उहाँले बताउनुभयो ।




