खासकुरा संवाददाता
हेटौँडा, असोज १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण, बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाको अवलोकन भ्रमण गर्नुभएको छ ।
शनिबार भ्रमणका क्रममा प्रदेशको विद्युतीकरणको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।
सो अवसरमा सिन्धुली, चितवन र मकवानपुरको विद्युत् आपूर्ति, प्रसारण लाइन तथा वितरणको अवस्थाबारे जानकारी गराइएको थियो ।
मन्त्री श्रेष्ठले समग्र अवस्था सन्तोषजनक रहेको भन्दै गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न तथा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि समयसापेक्ष र प्रभावकारी जनचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।
ग्राहकलाई डिजिटल भुक्तानीको सहज व्यवस्था मिलाउँदै सुशासन र सेवाको प्रभावकारिता कायम गर्न उहाँले निर्देशन दिनुभयो ।
हेभी प्रसारण लाइनको विकास तथा मर्मतसम्भार र आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि गृहकार्य गरी अगाडि बढाइने भएको छ ।
ऊर्जाको विकास र सहज वितरणमार्फत विद्युत् सेवालाई अझ चुस्त, सुरक्षित र भरपर्दो बनाउन सरकार प्रतिबद्ध रहको मन्त्री श्रेष्ठको भनाइ छ ।




