काठमाडौं , असोज १९ गते । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। उहाँका अनुसार हालसम्म विभिन्न जिल्लामा ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत भूमि सम्बन्धी समस्या समाधानमा सरकारको प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी दिँदै सात दशकदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासीको समस्या अब परिणाममुखी ढंगले समाधान गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको हो।

उहाँका अनुसार भूमि सम्बन्धी समस्या समाधानका लागि गठन भएका विभिन्न आयोग तथा संरचनामार्फत विगतमा ठूलो स्रोत खर्च भए पनि अपेक्षित परिणाम आउन सकेको छैन। वि.सं. २०७७ देखि गत वर्षसम्म मात्रै यस्ता संरचनामा दुई अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको उहाँले दाबी गर्नुभएको छ।

प्रधानमन्त्री शाहले राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर नभई विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा भूमि समस्या समाधानको काम अघि बढाइएको बताउनुभएको छ। प्रक्रिया छरितो, पारदर्शी र राज्यलाई कम भार पर्ने गरी अघि बढाउने सरकारको प्रयास रहेको उहाँको भनाइ छ।




