काठमाडौँ, असोज २८ गते । स्वीकृतिबमोजिम इन्टरनेट प्याकेज सञ्चालन नगर्ने तथा इन्टरनेट प्याकेज सार्वजनिक नगर्ने विभिन्न १४ वटा इन्टरनेट सेवाप्रदायक कारबाहीमा परेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै गरेको जाँचबुझपछि नियम पालना नगर्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार कारबाही पर्नेमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, फाइबर वल्र्ड कम्युनिकेसन प्रालि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रालि, डिस मिडिया नेटवर्क लिमिटेड, वाइफाई नेपाल प्रालि, सिजी कम्युनिकेसन लिमिटेड, वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड, फस्र्ट लिङ्क कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन् । यी कम्पनीलाई दूरसञ्चार ऐनबमोजिम कारबाहीस्वरूप ५० हजार रुपियाँ जरिबाना गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार इन्टरनेट सेवाप्रदायकले सस्तो प्याकेज बन्द गरेको गुनासो पछि निरीक्षण तथा जाँचबुझका लागि गठित समितिको प्रतिवेदनको निष्कर्षका आधारमा जरिबाना गरिएको हो । जाँचबुझका क्रममा प्राधिकरणबाट स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको पाइएको उहाँले जानकारी दिनुभयो ।




