हेटौँडा, असोज २८ गते । हेटौँडा उपमहानगरपालिकका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले बालबालिकाहरूमा देखिने अटिजम समाजको साझा समस्या भएको बताउनुभएको छ ।

सेन्टर फर अटिजम,मकवानपुरको चौथो साधारणसभाको उद्घाटन गर्दै उहाँले आजको आधुनिक समाजमा अटिजमको समस्या बढ्दै गईरहेकोले यो केवल एउटा परिवारको मात्र समस्या नभएर राष्ट्र कै समस्या भएकोले सामुहिक र साझा प्रयासमा समाधान गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष सिग्देलले अटिजम भएका बालबालिकाहरूको मानसिक र शरिरीक रूपमा फरक विशेषता हुने भएकोले उनीहरूको लागि विशेष सुविधायुक्त अस्पतालसहितको विद्यालय आवश्यक रहेको बताउनु भयो ।

सेन्टर फर अटिजम, मकवानपुरबाट करिव ४० जना बालबालिकालाई सेवा प्रदान गर्दै आएको छ । सेन्टरको अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सेन्टरका उपाध्यक्ष शेखर थपलियाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निसला श्रेष्ठले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको सचिव अस्मिता कालिकाले जानकारी दिनुभयो । साधारणसभामा सेन्टरका संरक्षकहरू बोलबहादुर कार्की र रामजी थपलियालगायतको उपस्थिति रहेको थियो ।




