खासकुरा संवाददाता
हेटौँडा, असोज २८ गते । हेटौँडा उपमहानगरपालिकाद्वारा आयोजित कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेला २०८३ बुधबार सम्पन्न भएको छ ।
प्रदेश कृषि थोक बजारमा आयोजित चार दिने मेलामा कृषि एवं तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेलामा खाद्यान्न, फलफूल तरकारी, हस्तकलालगायतका स्टलहरु रहेका थिए ।

कृषितर्फ १७ वटा, पशुपन्छीतर्फ तीन वटा र उद्यमतर्फ १५ वटा गरी ३५ वटा स्टलहरु रहेका मेलामा साङ्गीतिक कार्यक्रम तथा खाजा खानाका विभिन्न परिकारहरुको स्टलहरु राखिएको थियो ।
मेलाको छ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको भनाई छ ।
उक्त मेलामा उत्कृष्ट प्रदर्शनी तथा व्यापार गर्ने हेटौँडा १२ को सिन बहुउद्देश्यीय कृषि फार्म प्रथम, हेटौँडा–५ स्थित घरको स्वाद, भान्छाको अचार द्वितीय र महघर नेचुरल्स तृतीय भई पुरस्कृत गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वलीको अध्यक्षता तथा नगर उप प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको मेलाको समापन कार्यक्रममा उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायतले उत्कृष्ट स्टलहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।




