सर्लाही, कात्तिक १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार कार्य अत्यन्त सुस्त बनेको छ । राजमार्गलाई चार लेनमा विस्तार गर्न सम्झौता भएको ६८ प्रतिशत समय गुज्रिसक्दा निर्माण व्यवसायीले भर्खर ३० प्रतिशत मात्र काम सम्पन्न गरेका छन् । तीन वर्षभित्र धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनमा विस्तार गर्न तीन खण्डमा ठेक्का लागेको छ ।

कमला–ढल्केबर–पथलैया सडक आयोजनाका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले सडक विस्तारको काम ३० प्रतिशतभन्दा बढीले पछि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही अवस्थामा तीन वर्षभित्र सडक विस्तारको काम सकिने देखिँदैन । समय थप्नैपर्ने अवस्था रहेको छ ।”

राजमार्गको पहिलो खण्ड कमला पुलदेखि बडहरीसम्म (२२ किलोमिटर) भारतको इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड, दोस्रो खण्ड बडहरीदेखि सर्लाहीको फूलजोरसम्म (२९ किलोमिटर) चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सन र तेस्रो खण्ड फूलजोरदेखि बागमती पुलसम्म (२३ किलोमिटर) चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सन कम्पनीले नै ठेक्का सकार गरेका छन् । धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाहीमा ३६ प्रतिशत काम सम्पन्न भएको छ । पुल र कलभर्ट निर्माण भएकाले यति प्रगति देखिए पनि सडकको काम भने शून्य जस्तै रहेको आयोजना प्रमुख दासले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले तीन हजार पोल हटाइदिनुपर्ने भए पनि अहिलेसम्म एक हजार पाँच सय जति पोल मात्रै स्थानान्तरण भएकाले पनि सडक विस्तारको काम गर्न समस्या परेको सडक आयोजनाले जनाएको छ ।

बिहीबार मात्र निर्माणाधीन सडकको अवलोकनमा आएका प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दुई महिनाअघि र अहिले आउँदा राजमार्ग विस्तारमा खासै प्रगति नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउन अन्तिम साता आउँदा र अहिले असोज अन्तिममा आउँदा जम्मा तीन प्रतिशत मात्र प्रगति भएको छ । काममा ढिलाइ हुँदा जनताले थप दुःख पाउने देखिन्छ ।”




