हेटौँडा, कात्तिक १ गते । मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित बाँदरेभीरमा विद्युतीय गाडी दुर्घटनामा ११ जना घाइते भएका छन् ।

हेटौँडा–भैंसे सडक खण्डको बाँदरेभीरमा आइतबार दिउँसो १२ः३० बजेको समयमा काठमाडौँबाट गौरका लागि आएको बा.प्र.०३–००१ ज ०६७४ नं.को भाडाको विद्युतीय गाडी दुर्घटना भएको हो ।
उक्त गाडी सडकको दाहिने साइडको भित्तामा ठोक्किएर बाँया साईडको नालामा खसी दुर्घटना हुँदा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
गाडी दर्घटनामा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका १ का ३२ वर्षीय राजेश साह, ५० वर्षीय हरि साह,
निजको छोरीहरु २६ वर्षीया चन्दा कुमारी साह, २३ वर्षीया शिवाकुमारी साह, निजको नाती पाँच वर्षीय आर्यन साह, नातिनी शान्ति कुमारी साह, नाती शिवान्स साह र चन्द्रपुर नगरपालिका ११ पडरियाटोलकी २४ वर्षीया सबिताकुमारी चौधरी घाइते हुनुभएको छ ।

यस्तै रौतहट जिल्ला यमुनामाई नगरपालिका ४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर, धमनामाई नगरपालिका ४ का १६ वर्षीय विजय कुमार ठाकुर र भारतको मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम दुर्घटनामा परी घाइते भएका छन् ।
हरि साह र निजको परिवारका सदस्यहरुको थप उपचारका लागि चितवनस्थित सिएमसी अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
उक्त गाडीका चालक फरार रहेको र खोजतलास भईरहेको प्रहरीको भनाई छ ।




