काठमाडौँ, कात्तिक ५ गते । नेपालीहरूको प्रमुख पर्व बडादशैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ ।

दशैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भिडभाड त्यत्तिकै देखिन्छ ।

विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दो छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आम प्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ ।




