हुलाकमार्फत घरमै पुग्यो सिमकार्ड

लोकप्रिय

हेटौँडा, कात्तिक १५ गते । सरकारी सेवा घरघरमा पु¥याउने अभियानअन्तर्गत मकवानपुरमा पहिलो पटक हुलाक कार्यालयमार्फत नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पु¥याउन थालिएको छ । जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलकी लक्ष्मी थापा मगरलाई घरमै सिमकार्ड पु¥याएर यो सेवा सुरु गरेको हो ।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख हुलाक अधिकृत कपिल पाण्डेका अनुसार थापा जिल्लामै हुलाकमार्फत सिमकार्ड प्राप्त गर्ने पहिलो सेवाग्राही हुनुहुन्छ । नेपाल टेलिकमको सिमकार्डको मूल्य ९० रुपियाँ र हुलाक सेवाशुल्क ७० रुपियाँ भुक्तानी गरेपछि सेवाग्राहीले घरमै सिमकार्ड प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हुलाक कार्यालयले यसअघि नै राहदानी घरमै पु¥याउने सेवा सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरका १९८ जना सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी प्राप्त गरेका थिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने ११ थान राहदानी घरमै पु¥याइएको कार्यालयले जनाएको छ ।

गत वैशाख २ गतेदेखि हुलाकमार्फत राहदानी वितरण सुरु गरिएको थियो । वैशाखमा ११७, जेठमा ३६ र असारमा ४५ थान राहदानी वितरण गरिएको थियो । चालु आर्थिक वर्षको साउनमा दुई, भदौमा तीन र असोजमा छ थान राहदानी घरमै पु¥याइएको छ । राहदानी घरमै प्राप्त गर्न सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने क्रममा ५५ रुपियाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ । हुलाकमार्फत राहदानी लिने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय घटेको प्रमुख हुलाक अधिकृत पाण्डेले बताउनुभयो ।

ताजा समाचार

Related Articles