खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २७ गते । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
बिहीबार साँझ ७ः०० बजेको समयमा धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

उक्त दुर्घटनामा मोटरसाइकल चालकसहित ३ जना र स्कुटी चालकसहित २ जना गरी ५ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने वर्ष ३५ की सुशिला बमलाई शुक्रबार बिहान २ः२६ बजे थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। मृतकको शव सोही अस्पतालमा रहेको छ।
दुवै सवारीसाधन नियन्त्रणमा रहेका छन्।




