छठ पर्व सुरु, आज नहाय–खाय विधि गरिँदै

लोकप्रिय

रौतहट, कात्तिक २७ गते । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन आज शुक्रबार व्रतालुहरूले नहाय–खाय विधि गरेका छन् । नहाय–खायका अवसरमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध र सात्त्विक भोजनका रूपमा अरवा–अर्बाइन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामनासहित मनाइने छठ पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिनेछ । यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ। छठको मुख्य दिनका रूपमा रहेको यस दिन व्रतालुहरू पूजा सामग्रीसहित नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यदेवको उपासना गर्नेछन् । पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। अन्तिम दिनको विधिलाई पारन भनिन्छ ।

छठ पर्वमा बाँसबाट निर्मित ढाकी, डगरी, माटोका कोसिया, कुरबार तथा हात्तीको प्रतिमा लगायतका सामग्री प्रयोग गरिन्छ। ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, विभिन्न तरकारी, मिठाई तथा फलफूल सूर्यदेवलाई अर्पण गरिने प्रमुख प्रसाद हुन् । छठ पर्वमा अर्घ्य दिने व्रतालुहरूले करिब ४८ घण्टासम्म अन्न र पानीसमेत त्यागेर कठोर उपवास बस्ने परम्परा छ। धार्मिक निष्ठा, शुद्धता र कठोर साधनासँग जोडिएको यस पर्वलाई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुताको प्रतीकका रूपमा समेत लिने गरिन्छ । अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण तथा वितरण गर्ने परम्पराले समाजमा पारस्परिक सद्भाव कायम राख्न सहयोग पुर्‍याउँदै आएको छ ।

छठ पर्व सुरु भएसँगै तराई–मधेशका बजारमा पूजा सामग्री तथा फलफूल किनमेल गर्नेहरूको चहलपहल बढेको छ । विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरू सरसफाइ र सजावट गरी झकिझकाउ बनाउने काम भइरहेको छ । जनकपुरधामका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तलाउलगायत ऐतिहासिक जलाशयहरूलाई आकर्षक रूपमा सजाउने क्रम जारी छ । छठ गीतका मधुर धुनले अहिले मिथिलाञ्चलसहित समग्र तराई–मधेशको वातावरण भक्तिमय बनेको छ। घरदेखि बजार र घाटसम्म छठ पर्वको रौनक छाएको छ ।

ताजा समाचार

Related Articles