उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

लोकप्रिय

हेटौँडा, कात्तिक ३० गते । छठ पर्व अन्तर्गत व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको विधिवत् समापन गरेका छन्।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन सोमबार व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर ठकुवा, कसार, केरा, उखुलगायतका प्रसाद तथा कृषि उत्पादन सूर्यदेवलाई अर्पण गरेका थिए।

देशका विभिन्न स्थानमा नदी, पोखरीलायतको किनारमा बनेका छठघाटमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको थियो। हेटौँडाको राप्ती तटलगायतका स्थानमा बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।
छठघाटहरू बेहुलीझैँ सिँगारिएका थिए भने व्रतालुहरू नयाँ वस्त्रमा सजिएर पूजाआराधनामा सहभागी भएका थिए।

छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता, समावेशिता, प्रकृतिप्रतिको सम्मान र श्रमको महत्वलाई उजागर गर्ने विश्वास गरिन्छ।
अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिने यस पर्वले सुख–दुःखलाई जीवनको अभिन्न पाटोका रूपमा स्वीकार गर्न सन्देश दिन्छ।
सन्तान, सुख, समृद्धि र आरोग्य प्राप्तिको कामनासहित मनाइने छठ पर्व विधिपूर्वक सम्पन्न भएको छ।

ताजा समाचार

Related Articles