खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ३० गते । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित प्रहरी चेकपोइन्टबाट प्रहरीले ६ किलो ४० ग्राम चरेशजस्तो देखिने लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान करिब १ः४५ बजे चित्लाङस्थित चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।

गोर्खा, चितवनको सौराह र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६टी मोडेलको एसयूबी जिप गाडी जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा राखिएको लगेजभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कालो रङको लगेजभित्र लत्ताकपडासँगै सेतो प्लास्टिकले बेरिएका पाँचवटा पोका फेला परेका थिए । स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी तौल गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम चरेशजस्तो पदार्थ रहेको पाइएको हो ।

प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका दुवै जना, गाडी तथा बरामद पदार्थलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।




