सर्लाहीमा अपहरणमा परेका व्यक्तिको उद्धार, चार जना पक्राउ

लोकप्रिय

हेटौँडा, मंसिर ४ गते । जिल्ला प्रहरी कार्यालय मलङ्गवा, सर्लाहीले अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिको सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १०ः०० बजे सर्लाहीको गोडैता नगरपालिका–१ बस्ने अन्दाजी ३७ वर्षीय सुनिल कुमार रायलाई कौडेना गाउँपालिका–२ फुलपरासीबाट अपहरण गरिएको थियो। बरहथवा नगरपालिका–५ बस्ने अन्दाजी ३१ वर्षीय सन्तोष कुमार महतो समेत ४–५ जनाको समूह दुईवटा मोटरसाइकलमा आएर रायलाई कुटपिट गर्दै अपहरण गरी पिकअप गाडीमा हाली बरहथवातर्फ लगेको आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएका थिए।
सूचनालगत्तै प्रहरीले खोजी तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा गत कात्तिक २८ गते बिहान ९ः०० बजे बरहथवा नगरपालिका–५ स्थित राज कुमार महतोको घरको कोठाभित्र बन्धक बनाइराखेको अवस्थामा सुनिल कुमार रायलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उद्धार गरिएकै स्थानबाट सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सोही दिन बरहथवा नगरपालिका–७ दुध डेरी चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने अन्दाजी ५४ वर्षीय बिशेश्वर महतो, अन्दाजी २७ वर्षीय प्रमोद कुमार महतो, अन्दाजी २५ वर्षीय अमित कुमार महतो र अन्दाजी ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन्।
अनुसन्धानबाट अपहरणमा परेका व्यक्ति र संलग्न समूहबीच वैदेशिक रोजगारसम्बन्धी विवाद रहेको तथा सोही रकम जबरजस्ती असुलउपर गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको प्रहरीले जनाएको छ।

साथै, फिरौती रकम तिर्न जाँदा ३ लाख रुपैयाँ र गरगहना लुटिएको भनी गलत सूचना दिई घटनालाई अतिरञ्जित बनाउने अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

ताजा समाचार

Related Articles