खासकुरा संवाददाता
हेटौँडा, मंसिर ४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा भएको टाटा सुमो दुर्घटनामा तीन जनाको मृत्यु र सात जना घाइते भएपछि उज्यालो नेपाल पार्टीले हेटौंडा–काठमाडौं सडकखण्ड सुरक्षित बनाउन सरकारसँग तत्काल कदम चाल्न माग गरेको छ ।

उक्त पार्टीले बिहीबार बिहान भएको दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी सुरक्षा योजना कार्यान्वयन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको हो ।
चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना. १ ज २१४३ नम्बरको टाटा सुमो दुर्घटनामा परी चन्द्रपुर–३, गैँडाटारका बमबहादुर वाइवा, चन्द्रनिगाहपुरका अनुसा लामा र जेशिका ९अस्मिता० तिमल्सिनाको मृत्यु भएको थियो । पार्टीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टीले हेटौंडा–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी क्षेत्र लगातार सवारी दुर्घटनाको जोखिममा रहेको उल्लेख गर्दै पछिल्लो १० महिनामा भएका तीन ठूला दुर्घटनामा २३ जनाले ज्यान गुमाएको जनाएको छ । एक साताअघि मात्रै भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनासमेत उल्लेख गर्दै अघिल्लो दुर्घटनाको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै पुनः दुर्घटना हुनु सरकारी निकायको कार्यक्षमता र जवाफदेहितामाथिको गम्भीर प्रश्न भएको पार्टीको भनाइ छ ।

साँघुरो सडक, जोखिमपूर्ण घुम्ती, अपर्याप्त सुरक्षा पूर्वाधार, सडक संकेतको अभाव र सवारी सञ्चालनको कमजोर नियमनलाई दुर्घटनाको सम्भावित कारणका रूपमा औँल्याउँदै पार्टीले चालकको लापरबाहीलाई मात्र दोष दिएर राज्यका दायित्वबाट पन्छिन नमिल्ने जनाएको छ ।
उज्यालो नेपाल पार्टीले भैंसेलगायत हेटौंडा–काठमाडौं सडकखण्डका जोखिमयुक्त स्थानको प्राविधिक पहिचान गरी सडक संकेत, सुरक्षा बार र सडक बत्ती जडान गर्न माग गरेको छ । त्यस्तै, जोखिमपूर्ण घुम्ती सुधार, सडक विस्तार तथा स्तरोन्नतिका लागि समयबद्ध कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ ।
पार्टीले पछिल्ला दुर्घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न, सवारीसाधनको यान्त्रिक अवस्था, चालकको योग्यता, यात्रु संख्या र गति नियन्त्रणसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा लागू गर्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई कानुनबमोजिम बीमा रकमसहित उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
‘सडक दुर्घटनालाई नियति मानेर स्वीकार गर्न सकिँदैन, नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,’ पार्टीद्वारा जारी प्रेस नोटमा भनिएको छ । दुर्घटनापछि शोक व्यक्त गर्ने र अस्थायी प्रतिबन्ध लगाउने कार्यमा मात्र सीमित नभई सुरक्षित सडक पूर्वाधार, प्रभावकारी नियमन र जवाफदेही प्रणाली निर्माण गर्नुपर्ने पार्टीको जोड छ ।
पार्टीले ‘आजको यो श्रद्धाञ्जली नै अन्तिम श्रद्धाञ्जली बनोस्’ भन्दै सडक सुरक्षामा राज्यको गम्भीरता र जवाफदेहिता सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।




