राष्ट्रिय अर्थतन्त्रमा बागमतीको योगदान बढी

लोकप्रिय

काठमाडौं, मङ्सिर ९ गते । राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.७१ प्रतिशत पुगेको छ । कर्णालीको हिस्सा ४.२० प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले सेवा र उद्योगमा बागमती, कृषिमा कोशी तथा मधेस अगाडि रहेको देखाएको छ । तर आर्थिक बृद्धिदरमा मधेस सबैभन्दा कमजोर देखिँदा प्रदेशगत विकासको असमानता थप उजागर भएको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले मुलुकको आर्थिक गतिविधिमा सुस्तता देखाउँदै प्रादेशिक अर्थतन्त्रमा गहिरो असन्तुलन रहेको औँल्याएको हो । सेवा, उद्योग तथा वित्तीय क्षेत्रमा बागमती प्रदेशको वर्चस्व कायम रहँदा कृषि उत्पादन र वैदेशिक व्यापारमा कोशी तथा मधेस प्रदेश अगाडि देखिएका छन् । यता, अधिकांश आर्थिक सूचकमा कर्णाली प्रदेश सबैभन्दा कमजोर अवस्थामा रहेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन, २०८२/८३’ अनुसार समीक्षा वर्षमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत र आधारभूत मूल्यमा ३.६८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । अघिल्लो वर्ष उपभोक्ता मूल्यमा वृद्धिदर ४.४३ प्रतिशत थियो । अत्यधिक वर्षा तथा बाढीपहिरोले कृषि, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा असर पुर्‍याउँदा आर्थिक गतिविधि प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.७१ प्रतिशत रहेको छ । कोशीको १५.८०, लुम्बिनीको १४.२०, मधेसको १३.०८, गण्डकीको ८.९८ र सुदूरपश्चिमको ७.०३ प्रतिशत योगदान छ । कर्णालीको हिस्सा ४.२० प्रतिशत मात्रै छ । आर्थिक वृद्धिदरमा बागमती ५.४० प्रतिशतसहित पहिलो र गण्डकी ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा छन् । मधेसको बृद्धिदर भने १.३१ प्रतिशतमा सीमित भएको छ ।

ताजा समाचार

Related Articles