दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर १० गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन्।

बिहीबार साँझ करिब ५ः३५ बजे पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्ना साथ विपरीत दिशाबाट हेटौँडा बजारतर्फबाट कर्रातर्फ जाँदै गरेको ना ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको बायाँपट्टिको पछाडिको चक्काले मोटरसाइकलमा पछाडि सवार हेटौँडा–४ श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकलाई किच्न जाँदा गम्भरु घाइते हुनुभएको थियो।
घाइते पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएकोमा चिकित्सकले साँझ ५ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उहाँको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा संलग्न ट्रक र चालक हेटौँडा–१३ पदमपोखरी निवासी ४४ वर्षीय मनराज थोकरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा रहेको छ।
घटनास्थलमा ट्राफिक प्रहरीसहितको टोली खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

Related Articles