कैलाशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर १० गते । मकवानपुरको कैलाश गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले अभियानको सुरुवात गर्नुभएको हो ।

२५ नोभेम्बर देखि विभिन्न कार्यक्रम गर्दै १६ दिने अभियान सफलता पूर्वक सम्पन्न गरिने जनाइएको छ ।
अध्यक्ष मुक्तानले महिला, बालबालिका तथा अन्य कुनै पनि व्यक्तिमाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा यौनजन्य हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक भएको भन्दै हिंसा सहेर बस्ने होइन, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल १६ दिनमा सीमित नभई वर्षभरि नै हिंसा अन्त्यका लागि सचेतना, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्वको अभियान बन्नुपर्ने बताउँदै घर, परिवार, समाज तथा सार्वजनिक क्षेत्रमा लैङ्गिक समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले हिंसामुक्त समाज निर्माणका लागि महिला तथा पुरुष, युवा, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नु आजको समाजको साझा दायित्व हो भन्दै महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, दुर्व्यवहार र असमान व्यवहारको अन्त्यका लागि कानुनी सचेतनासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको बताउनुभयो ।
ब्याच र सामूहिक प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरी अभियान सुरु गरिएको थियो ।
महिला बालबालिका शाखा प्रमुख रमिला सापकोटाले म हिंसा गर्दिन, हिंसा सहदिन र यसको प्रतिकार गर्छु भन्ने मूल मर्मका लागि २०२६को लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको जानकारी दिनुभयो ।

 

ताजा समाचार

Related Articles