छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, फागुन १९ गते ।
मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युभएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ स्थित मनहरी पुलस्थित सडक खण्डमा सोमबार ट्रकले मोटरसाइकल ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एकको मृत्युभएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. १६ प. ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना. ६ ख. ४०५५ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटनाभएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका पछाडि बसेर सवार चितवन रत्ननगर नगरपालिका १६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेभएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका १६ पिठुवाका वर्ष ५५ का रामजी गौतम र थापालाई मनहरी अस्पताल मनहरी लगेकोमा थापाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते गौतमलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले क्षतिपूर्ति र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेकोमा माग सम्बोधन हुने आश्वासनपछि सडक सुचारुभएको थियो ।
यसैबिच मकवानपुरको राक्सिराङ गाउँपालिका ६ स्थित कोलडाँडाकी एक महिलाको भिरबाट लडेर मृत्युभएको छ ।
करिब ४९ वर्षीय सीतामाया गलान घरबाट घाँस काट्न जान्छु भनी हिडेकोमा घर फर्केर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा आफ्नो घरदेखि एक किमि पश्चिमतर्फ रहेको सिलिङ्गे सामुदायिक वनको भिरबाट तल खसेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो । शनिबार घरबाट निस्किएका गलान सोमबार मृत अवस्थामा फेला पारिएको हो । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ ।

 

ताजा समाचार

Related Articles